धरानमा साकेला उभौली सुरु

किराँत राई समुदायहरुको महान चाड साकेला उभौली आजबाट सुरु

किराँत राई समुदायहरुको महान चाड साकेला उभौली आजबाट सुरु भएको छ । किराँत राईहरुले वर्षको दुई पटक साकेला उभौली र उद्यौली चाडलाई धुमधाम साथ मनाउने गर्दछन् । 

किराया सुनसरीले साकेला उभौली ५०८५ को अवसरमा धरान–१३ को आयोजनामा धरान–१४ स्थित हाङ बुद्धीकर्ण राईको दरबारक्षेत्र विजयपुरवाट विधिवत रुपमा डोलझ्याम्टा फुकाइ सुनसरी जिल्ला भित्र रहेका विभिन्न वडा कार्य समिति र भाषिक संस्थाहरुले आजबाट उभौली पर्व सुरु गरेको किराँत राई यायोक्खा सुनसरीको अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो  । 

समय साल राम्रो होस्, अन्नवाली सप्रियोस, सहबसोस र अनिकाल नलागोस्, सबै जीव प्राणीहरुमा सुख शान्ति होस् भन्दै सिमेभूमे पूजागरी साकेला नाचेर नयाँ अन्नवाली लगाउने चाड नै साकेला उभौली हो । त्यसैगरी अन्नवाली पाकेर घरभित्राए पछि घरभित्र गाडिएको पवित्र चुलालाई चढाई आफ्ना पितृहरुलाई आशीक मागि नयाँ अन्नबाली खाने र वरदाजुभाई, चेलीमाईती, इष्टमित्र भेला भई खुशीयाली मनाउने चाड नै साकेला उद्यौली हो । 

किराँत राईहरुको साँस्कृतिक एकताको प्रतिकको रुपमा रहेको साकेला सिली पछिल्लो समय किराँतीहरु बसोवास गरेको देशहरुमा समेत भव्यताको साथ मनाउने गर्दछ । भारत, हङ्गकङ्ग, बेलायत, जापान, सिंगापुर, अमेरिका, दक्षिण कोरिया, कतार, मलेशिया, अष्ट्रेलिया आदि देशहरुमा किराँत राईहरुको बसोबास रहेको ठाउँमा नाच्न थालिएको छ । यो किराँत राईहरुमा आएको साँस्कृक्तिक जागरण र आफ्नो संस्कार र संस्कृतिप्रतिको माया, सम्मान पनि रहेको अध्यक्ष राईले बताउनुभयो  ।

उभौली पर्व उत्सव मात्र नभएर परम्परागत संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लैजानु पनि महत्वपूर्ण रहेकोले ऐतिहासिक संस्कृक्तिलाई विश्व सामु परिचित गराउनु देशभित्रका अन्य जात जातिको मौलिक संस्कृतिहरुसँग सद्भाव कायम राख्नु, विभिन्न चर र पाछाका किराँत राईहरुमा समन्वय र सद्भाव कायम गर्नु साँस्कृतिक पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले हरेक साल साकेला उभौलि मनाउँदै आएकोे अध्यक्ष राईले बताउनुभयो । 

सुनसरीमा २४ स्थानमा औपचारिक कार्यक्रमहरु गरी उभौलि पर्व मनाईने अध्यक्ष राईले बताउनुभयोे । ’साकेला उभौली वैशाख पूर्णिमाको दिन देखि विधिवत रुपमा सुरु गरि १५ दिन सम्म आ“गनमा स्याउली गाडेर धुमधामसँग साकेला सिली नाची यो चाडलाई मनाउने गरिनन्छ,’ उहाँले भन्नुभयो । 

पछिल्लो समय युवापुस्तामा किराँत समुदायको भेषभुषा, गरगहना लगाउने र साकेला नाच्ने आकर्षण समेत बढ्दै गएको छ । हातमा सेउली, चमर लिएर, ढोल, झ्याम्टाकासाथ किराँत समुदायका मात्र नभएर अन्य जाति समुदायका युवायुवतिहरु पनि रमाउने गरेका छन् । 

वैशाख पूर्णिमाको अवसरमा सोमबारबाट सुरु भएको साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायत किराँत समुदायको बसोबास रहेको संसारको सबै ठाउँहरुमा साकेला नाच नाच्दै हर्षोल्हासका साथ मनाउने गरिन्छ ।

किराँत राईहरुको गौरवशाली जातीय संस्था किराँत राई यायोक्खा सुनसरीले साकेला सिलीको संरक्षण, सम्बद्र्धन, विकास र यसको मौलिकतालाई बचाई राख्ने उद्देश्यले २०५८ सालदेखि प्रत्येक वर्ष साकेला उभौलीको अवसरमा किराया वडा कार्य समिति स्तरीय प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीको आयोजन समेत गर्दै आइरहेको छ । उभौली पर्वको अन्तिम पन्ध्रौं दिन जेठ १७ गते भने धरान–१७ साकेला साँस्कृतिक पार्कमा सुनसरी जिल्ला भरिका किराया समितिहरुको प्रतियोगितात्मक साकेला सिली प्रदर्शनी २०८२ हुनेछ । 

साकेला सिलीमा प्रथम हुनेलाई ४० हजार, दोस्रो ३० हजार र तेस्रो  हुनेलाई २० हजार प्राप्त गरिने भएको छ । यसैगरि कार्यक्रममा धरान बाहिर र धरान भित्रको वडा स्तरिय गरि १३ वटा विधाबाट नगद र प्रमाण पत्रबाट पुरस्कृत गरिनेछ । जसमा प्रथमलाई ७ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई ५ हजार प्रदान गरिने भएको छ । 


Suresh Malla

7 Blog indlæg

Kommentarer