डाँडाभरि आलु खेती, शीत भण्डार सञ्चालन नहुँदा मर्कामा किसान

बैतडीको पाटन नगरपालिकामा आलुसहितका तरकारी खेति फस्टाउँदै गएको छ । तर शीत भण्डार सञ्चालनमा नहुँदा किसानहरु स

७ जेठ, बैतडी । बैतडीको पाटन नगरपालिकाका ८, ९ र १० नम्बर वडा आलु पकेट क्षेत्र हुन् । यहाँका किसानहरु आलु आलुसहित बेमौसमी तरकारीले आत्मनिर्भर छन् । किसानहरुले तरकारी खेतीबाट लाखौं आम्दानी गरिरहेका छन् ।

पाटन–८ का किसान केशव विष्ट आलु र बेमौसमी तरकारीबाट वार्षिक १० लाखसम्म आम्दानी हुने गरेको बताउँछन् । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी पनि बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोडसम्मको आलु निर्यात हुने गरेको बताउँछन् । यस वर्ष समय–समयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने अनुमान उनको छ ।

प्रदेश र संघीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमै दुईवटा शीत भण्डार बनाइएको थियो । तर ती वषौँदेखि सञ्चालनमा छैनन् । शीत भण्डार सञ्चालनमा सरोकारवालाले चासो नदिएको गुनासो किसानहरुको छ ।

किसान नरबहादुर विष्ट भन्छन्, ‘यस क्षेत्रमा बनेका शीत भण्डार समेत प्रयोगमा छैनन्, शीत भण्डार सञ्चालन गर्नका लागि सरोकारवाला निकायले चासो देखाएका छैनन् ।’

उनका अनुसार शीत भण्डार सञ्चालनमा आए मौसमी तरकारीलाई भण्डार गरेर राख्ने र बेमौसममा बेच्ने सुविधा हुने थियो तर शीत भण्डार नहुँदा बिक्री नभएका तरकारी फ्याँक्नुपर्ने बाध्यता छ ।

पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख लागतमा शीत भण्डार बनाइएको थियो । आर्थिक वर्ष २०७९/०८० मा नै प्रदेश सरकारको १५ लाख रुपैयाँ अनुदान सहयोगमा कोल्ड स्टोर निर्माण भएको थियो ।

तर सो कोल्ड स्टोरका सञ्चालक मोहनदेव भट्ट नै सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी बताउँछन् ।

खोडपे क्षेत्रमै रहेको अर्काे कोल्ड स्टोरमा विद्युत् जडान नभएकाले सञ्चालनमा छैन । साविकको नयाँ सहर आयोजना कार्यालयले ८४ लाख २९ हजार ८१ रुपैयाँ लागतमा कोल्ड स्टोर बनाइदिए पनि विद्युत् जडान छैन ।

उक्त कोल्ड स्टोरमा विद्युत् जडानका लागि बजेट नआएकाले आगामी वर्षका लागि माग गरिएको नयाँ सहर आयोजना कार्यालय गाभिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिए ।


khabar

3 ब्लॉग पदों

टिप्पणियाँ