ओलीले चीन भ्रमणबाट फर्किएलगत्तै पश्चिमा सामाजिक सञ्जाल बन्द गर्नुको अर्थ के हो

नारायण प्रसाद दाहाल

काठमाडौँ, २२ भदौः प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै फेसबुकलगायत पश्चिमा सामाजिक सञ्जालहरु बन्द गरिदिएका छन् । चीनमा पाँच दिने भ्रमणका क्रममा संसारका प्रमुख डिक्टेटरहरू भेला भएका थिए । ती डिक्टेटरहरूसँग प्रधानमन्त्री ओलीले पनि हात मिलाएका थिए । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाका नेता किम इल सुङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म चीनमा भेला भएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङ त हुने नै भए । ओलीले पुटिनदेखि सी र किमसम्मका नेतासँग हात मिलाए । उनले हात मिलाएका ती सबै नेता डिक्टेटर भनेर नै चिनिएका छन् । 

ओली स्वयं पनि यसअघि जतिपटक प्रधानमन्त्री भए, अधिनायकवादी चरित्र पटकपटक प्रदर्शन गरेका छन् । यसपालि नेपाली जनताले प्रयोग गर्ने प्रमुख सामाजिक सञ्जाल बन्द गरेपछि त ओलीले कालान्तरका लागि पुग्ने गरी लोकतन्त्रविरोधी छवि आर्जन गरिसकेका छन् ।

ओलीले यो कदम चालेर आफूलाई अलोकतान्त्रिक र अधिनायकवादी भनेर पुनः प्रमाणित त गरेका छन् नै, साथसाथै उनले कमजोर भूराजनीतिक खेल पनि खेलेका छन् । उनको अहिलेको कदमलाई केवल प्रविधि वा कानुनी विषय भनेर मात्र हेर्नेभन्दा पनि भूराजनीतिक सन्दर्भमा बुझ्नुपर्ने देखिन्छ ।

पहिलो त उनले चीनसँग मेल खाने र चीनपरस्त नीति अख्तियार गरेका छन् । चीनले आफ्ना भित्री भूभागमा फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्रामजस्ता पश्चिमा सामाजिक सञ्जाललाई अवरुद्ध गरेर आफ्नै विच्याट, वेइबो, दोउयिनजस्ता प्लेटफर्मलाई प्रोत्साहन गरेको छ ।

ओलीको चीन भ्रमण सकिएलगत्तै नेपालले पनि सोही शैलीमा प्रतिबन्ध लगाएको कदमलाई चीनको डिजिटल शासन मोडलतर्फ झुकावको संकेतका रूपमा व्याख्या गर्न सकिन्छ ।

ओलीले पश्चिमा सामाजिक सञ्जाल एप बन्द गरेर भारत र पश्चिमसँग दूरी बढाउने काम गरेका छन् । नेपाल र भारतबीच पछिल्ला वर्षहरुमा सम्बन्ध चिसिएको छ र ओलीप्रति त भारतीय संस्थापनले इतिहासमा कुनै पनि प्रधानमन्त्रीलाई भन्दा बढी वक्रदृष्टिले हेरिरहेको छ भन्ने बुझिन्छ । अनि अमेरिकासँग पनि नेपालले एमसीसी लगायतका विषयमा आन्तरिक विवाद खेपिरहेको छ । 

तर अमेरिकाले संसारभरिबाट युसएडजस्ता दातृ निकाय बन्द गरेर सहयोग रोक्दा पनि नेपालमा एमसीसीमा लगानी रोकेको छैन । यति हुँदा पनि ओलीले फेसबुक, ट्विटरजस्ता प्लेटफर्महरू बन्द गरिदिएका छन् । यी प्लेटफर्महरु अमेरिकन कम्पनीहरूसँग सम्बन्धित भएकाले यसलाई पश्चिमा शक्तिलाई चिढ्याउन सक्नेछ । हुन सक्छ ओलीले मुलुकलाई पश्चिमा प्रभावबाट टाढा हुने रणनीतिका रुपमा यो नीति अपनाए कि ?

यी विभिन्न कोणबाट विश्लेषण त गर्न सकिन्छ तर यकिनसाथ भन्न सकिन्न । यकिनसाथ भन्न सकिने कुरा के हो भने यसअघि एमाले र माओवादी मिलेर बनेको सरकारले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाइदिएको थियो । 

अहिले बरु सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने र नेपालमै गुनासो सुन्ने प्रणाली स्थापित गरिनुपर्ने सर्त सरकारले राखेको छ र ती सर्त एवं नेपालले अघि सारेको कानुनी व्यवस्था मान्न सञ्जालहरु तयार भएका छैनन् । विगतमा टिकटक बन्द गर्नुअघि यस्तो कुनै पनि कानुनको आड लिइएको थिएन । अहिलेजस्तो सर्वोच्च अदालतको फैसला पनि आइसकेको थिएन । 

टिकटक बन्द हुँदाका अवधिमा पुगेको क्षति भने अहिले सरकारकै कदमले पुड्ताल गरिदिएको छ । त्यसैले चीन भ्रमणबाट फर्किएर आएपछि ओलीले चीनलाई गुन तिर्ने उपायका रुपमा यो कदम चालेको भन्नेमा कुनै दुविधा छैन । भलै लिपुलेकमा चीनले नेपालको विरोधलाई कुनै महत्त्व नदिएको किन नहोस् ?

https://www.barnanmedia.com/news/detail/240213/


Suresh Malla

7 Blog Postagens

Comentários